कांग्रेस सहर केन्द्रित भयो: पूर्वराष्ट्रपति यादव

काठमाण्डु टुडे २०८० जेठ ३ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– पूर्वराष्ट्रपति डा रामवरण यादवले कांग्रेस सहर केन्द्रित भएको आरोप लगाएका छन । आज बुधवार काठमाण्डुमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन ।

यादवले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले हराएको बताएका छन ।

उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताएका छन । यादवले निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरू जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताएका छन ।

उनले भने, ‘काँग्रेस सहर केन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोइरालाहरू गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो ।

पहिला केन्द्रीय समितिमा ३०,३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कमसेकम आधालाई जिल्ला जिल्लामा खटाइदिएको कम्तीमा एउटामा दुई जना पुग्थे । अरू पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन् । तपाईँहरू यहाँ बसिरहनु हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us