
काठमाण्डु, ३ जेठ– पूर्व प्रधानान्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन । आज बुधबार ३१ औं मदन–आश्रति स्मृति दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका छन । उनले देशलाई यस्तो स्थितिमा पुर्उनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भएको आरोप लगाएका छन ।
कांग्रेस कर्तव्यविमुख भएको भन्दै ओलीले कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने बताएका छन ।उनले भने, ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो ।
देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुढ, भोलि कहाँ जाने केही थाहा छैन जस्तै छ, आज देशलाई कसरी सही बाटोमा लैजाने हो त्यसमा सोच्न सक्ने अवस्थामा छैन ।’
वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको आरोपसमेत लगाएका छन । यसको अर्थ एमाले एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने भएको उनले बताएका छन । तर सत्ताको लागि मात्र कसैसँग नमिल्ने उनले बताएका छन ।