
काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिएका छन् ।
आज (विहीबार) एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन । भट्टराईले भनेका छन्, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरुले नै निजी लाभका निम्ति राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध हो ।’
उनले यस्तो अपराधको जति भर्त्सना गरे पनि थोरै हुने बताएका छन । उनले भने, ‘चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या बनेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको छ ।’
नेसपाले यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर अनुसन्धान प्रक्रिया अघि बढाउने कदमको स्वागत गरेको छ ।
पार्टीले निष्पक्ष ढंगले अनुसन्धानलाई अघि बढाएर यसलाई छिटो तार्किक निष्कर्षमा पुर्याउन माग गरेको छ ।