
काठमाण्डु, २२ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे आज औपचारिक निर्णय गर्ने भएको छ ।
त्यसबारे निर्णय गर्न उक्त पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सरकारबारे बैठकले निर्णय लिने बताए । वर्तमान सरकार गठन गर्दा रास्वपाले समर्थन गरेको थियो ।
तर, नागरिकता प्रकरणमा सभापति रवि ािलमछानेको सांसद पद खारेज भएसँगै राश्वपाका दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका थिए । सरकार छाडे पनि रास्वपाले समर्थन भने कायमै राखेको छ ।
गत १० वैशाखको उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित भएपछि सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ससर्त सरकारमा सहभागी हुने बताएका छन् । रास्वपाले गृहसहित यसअघि सम्हालेका सबै मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्डले रास्वपाका सर्तबारे सत्ता गठबन्धनमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका थिए ।