
काठमाण्डू, ८ जेठ-मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरुले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था नराख्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई भेटेर दबाब दिएका छन् ।
अर्यालको नेतृत्वमा गएका एक दर्जन बढी सचिवले बिहीबार पहिला सभामुख घिमिरे र त्यसपछि अध्यक्ष दाहाललाई भेटेर कुलिङ पिरियडको व्यवस्था नराख्न दबाब दिएका हुन् ।
उनीहरुले मुलुकका लागि सेवा गर्छु भन्ने चाहनेले पाउनुपर्ने भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट एकमतले पारित विधेयकमा राखिएको कुलिङ पिरियडको व्यवस्था असंवैधानिक भएको जिकिर गरे ।
विधेयकमा अवकाश प्राप्त कर्मचारीले अवकासको दुई वर्षसम्म विभिन्न संवैधानिक र कूटनीतिक निकायमा नियुक्ति नपाउने व्यवस्था गरेको छ । विधेयक पारित भए आफूहरुले दुई वर्षसम्म नियुक्ति खान नपाउने भएपछि सचिवहरुमा छटपटाहट देखिएको हो । राजनीतिक नेतृत्वसँगको साँठगाँठमा विगतमा धेरै सचिवले पदमै छँदा नियुक्ति खाएका दृष्टान्तहरु छन् । स्वार्थको द्वन्द्व झल्किने भएकाले त्यसलाई रोक्न समितिले कुलिङ पिरियडको प्रावधान राखेर विधेयको मस्यौदा तयार पारेको हो ।
मुख्यसचिवसहित सचिवहरुले यसअघि प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर कुलिङ पिरियडको व्यवस्था हटाइदिन भनेका थिए ।
निजामति सेवाका सचिवहरुसँगै दबाब अभियानमा रहेका संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले आफूहरुले कानून बनाउने विषयमा दबाब नदिएको बताए ।
निजामती कर्मचारीलाई रिटायर्डपछि अयोग्य हुने गरी अवकाशमा पठाउने व्यवस्था असंवैधानिक भएकाले अपमानित गर्ने उक्त व्यवस्था हटाउन सुझाएको उनको भनाइ थियो ।
कुन संवैधानिक निकायमा कस्तो योग्यता भएको व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेबारे संविधान आफैं बालेको भन्दै कुलिङ पिरियड राख्ने भए संवैधानिक निकायका पदाधिकारीको सेवा र सर्त सम्बन्धी ऐनमा राख्नुपर्ने तर्क गरे ।
सभामुख घिमिरेलाई भेटेर राष्ट्रियसभा अध्यक्ष दाहालको कार्यकक्षमा जाने क्रममा मुख्यसचिव र सचिवको समूहले बाहिर कुरिरहेका सञ्चारकर्मीलाई छले ।
सभामुखको कार्यकक्षबाट बाहिरिँदा उनीहरुले मुख्य ढोका प्रयोग गरेनन् । कूटनीतिक नियोगका व्यक्तिहरु पस्ने र बाहिरिने पछाडिको ढोका प्रयोग गरेर सचिवहरुको समूह अर्को भवनमा रहेको अध्यक्ष दाहालको कार्यालयमा गए ।
तर, सञ्चारकर्मीले दगुर्दै गएर उनीहरुको फोटो र भिडियो खिचे । क्यामेराको फ्रेममा परेको चाल पाएपछि महासचिव पाण्डेयेले हातमा रहेको फाइलले मुख छोपेको दृष्य रोचक थियो ।