राजतन्त्रबारे देउवाको धारणा भन्दै प्रकाशित समाचारमा काँग्रेसको आपत्ति

काठमाण्डु टुडे २०८२ जेठ ८ गते २०:५७ मा प्रकाशित

काठमाण्डू, ८ जेठ- कांग्रेसले सभापति शेरबहादुर देउवाले राजसंस्थाबारे बोल्दै नबोलेको विषयबारे सञ्चार माध्यममा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले नबोलेको र नसोचेको विषयलाई प्रचारमा ल्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।

कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे देउवाको धारणा भनी सञ्चारमाध्यममा अनैतिक र घोर आपत्तिजनक रुपमा गलत प्रचार गरिएको उनको भनाइ थियो ।
सभापतिले कहीँ नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरूपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत भएको काँग्रेसले जनाएको छ ।

काँग्रेसले जो सुकैले यस्ता कार्य गरेको भए पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको घोर निन्दा र भर्त्सना गरको छ ।
विज्ञप्तिमा राजसंस्थाबारे देउवाको धारणा भन्दै आएका समाचारमा विश्वास नगर्न भनिएको छ ।

ऐतिहासिक जनआन्दोलन २०६२\६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्बर्द्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको पनि विज्ञप्तिमा स्मरण गराइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us