गृह प्रशासनको सम्पर्कमा आए टोपबहादुर रायमाझी !

काठमाण्डु टुडे २०८० वैशाख २२ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम उठाउने गिरोहसँग उठबस र आर्थिक लेनदेन देखिएपछि अनुसन्धानमा तानिएका पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी गृह प्रशासनको सम्पर्कमा आएका छन् ।

रायमाझी एमाले शीर्ष नेतृत्व र निटकवर्तीहरुमार्फत गृह मन्त्रालयका उच्च अधिकारीको अप्रत्यक्ष सम्पर्कमा आएका हुन् । ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझी बुधबारदेखि सम्पर्कविहीन छन् ।

बुधबार उनी सभामुख देवराज घिमिरेसँगै जिल्लाको एक कार्यक्रममा सहभागी थिए । उसै दिन अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रायमाझी मोबाइल स्वीचअफ गरेर सम्पर्कविहीन छन् । महानगरीय प्रहरी परिसर काठमाण्डुले उनलाई राजधानी फर्किएलगत्तै पक्राउ गर्ने तयारी गरेको थियो । त्यसबारे प्रहरी संगठनभित्रैबाट पूर्वसूचना पाएपछि उनी एकाएक सम्पर्कविहीन भएका थिए ।

तर, उनी एमाले नेतृत्वको सम्पर्कमा रहेको पुष्टि भएको छ । एमाले नेताहरुमार्फत उनले आज र भोलि सार्वजनिक बिदा परेकाले आइतबार प्रहरीसमक्ष उपस्थित हुने खबर पठाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘म भागेर कतै जान्न । ठूलै अपराधीलाई जसरी हत्कडी लगाएर पक्राउ गर्नुपर्दैन । सार्वजनिक बिदापछि आफैं प्रहरीको सम्पर्कमा आउँछु भन्ने खबर पठाउनुभएको छ’ ती अधिकारीले भने ।

ती अधिकारीका अनुसार रायमाझीले नक्कली भुटानी प्रकरणको छानबिनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ठगी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई प्रहरीले तीन दिनअघि नै बुटवलबाट पक्राउ गरेर काठमाण्डु ल्याएको छ । शुक्रबार सन्दीपलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नक्कली शरणार्थी प्रकाणित गरेर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, र तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकामा आपत्ति जनाएका थिए । ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै समातेर हतकडी लगाउन खोजिनुलाई षड्यन्त्रपूर्णको संज्ञा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us