
काठमाण्डु,२० वैशाख– प्रधानन्यायाधीशको तत्काल नियुक्ति माग गर्दै नेपाल बार एशोसिएशनको आन्दोलन जारी छ । आज बुधबार पनि नेपाल बार एशोसिएसनको परिसरमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका छन ।
उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले तत्काल प्रमुख पाउनुपर्ने बताएका छन ।
न्यायपालिका प्रमुख पद खाली हुँदा पनि जिम्मेवार निकायले आफ्नो काम नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन । उनले भने, ‘ नेपाली जनता एकातर्फ न्याय नपाएर रुँदै हिँड्नुपर्ने अवस्थाको विद्यमानता छ भने अर्कोतर्फ नेपालका जुन जिम्मेवार निकायहरु छन् । ती जिम्मेवार निकायहरु आफ्नो भूमिकाबाट च्यूत भएको अवस्था छ ।
आफ्नो भूमिकाबाट पर सरेको अवस्था हामी देख्दैछौं’। नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिको लागि नभई संस्थाको लागि र अदालतमा भइरहेको गलत कामका विरुद्ध भएको बताएका छन ।