
काठमाण्डु, ११ वैशाख– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सोमबार विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित जस्तै छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लागेका हुन ।
८७ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । यो अंकगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने छन ।
सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने पक्का जस्तै छ । एक जना स्वतन्त्रसहित सत्तारुढ दलका ५३ जना सांसदले गिरीको विपक्षमा मतदान गर्ने भएका छन ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महाराले सत्तारुढ दलहरुका सांसदहरुले मुख्यमन्त्री गिरीलाई विश्वासको मत नदिने जानकारी दिएका छन ।
मुख्यमन्त्री गिरी नेतृत्व सरकार अल्पमतमा परेकाले नैतिकताका आधारमा नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्ने बताएका छन । चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अन्य ८ दलका ५३ सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ ९३० बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारीमा रहेको छ ।