
काठमाण्डु, १० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृत कार्यालय चितवनमा उजुरी परेको छ ।
चितवन–२ मा आइतबार सम्पन्न निर्वाचनमा लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै काँग्रस उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले उजुरी दिएका हुन् ।
लामिछानेले निर्वाचन प्रक्रिया सुचारु भइरहेका बेला सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट भिडियो सन्देशमार्फत मत मागेको आरोप उजुरीमा छ । यस्तै लामिछानेले विभिन्न मतदान स्थलमा हुलहुज्जत गर्ने÷गराउने गरी मतदातालाई प्रभावित पारेको आरोप उजुरीकर्ताले लगाएका छन् ।
‘निर्वाचन प्रक्रिया सुचारु भइरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडियो÷भिडियो सार्वजनिक भएको छ’, उजुरीमा भनिएको छ, ‘आचारसंहिताविपरीत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदान स्थलमा हुलहुज्जत गर्ने÷गराउने गरी मतदातालाई प्रभावित पारेको छ ।’
प्रमुख जिल्ला अधिकारीको ठाडो निर्देशनमा सुरक्षाकर्मीबाट एक पक्षीय ढंगबाट मतदाता र मतदान प्रतिनिधिहरूमाथि लाठी चार्ज गर्ने र मतदातालाई भयभित गराएको आरोप लगाइएको छ ।
लामिछाने नयाँकिरण मावि भोजाड मतदान स्थलमा गएका बेला उनका समर्थकले समर्थनमा नाराबाजी गरेका थिए ।