चितवनका दुई केन्द्रमा रोकियो मतदान

काठमाण्डु टुडे २०८० वैशाख १० गते १४:३२ मा प्रकाशित

काठमाण्डु ,१० वैशाख- चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका वडा नं। ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

नयाँ किरण कमल कुसुम मावि केन्द्रमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ ।भने कृष्णपुरमा मतदान रोकिएको आधा घण्टा भएको छ ।भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।

सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । तनाब थप नबढोस् भनेर विद्यालयको मूल गेट बन्दगरिएको छ ।

अहिले अवस्था सामान्य छ तर मतदान सुरु भइसकेको छैन ।कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us