
काठमाण्डु, १० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) ले आज तीन निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा गठबन्धन गरेको भन्ने चर्चा असत्य भएको जनाएको छ ।
सो पार्टीले आधिकारिक फेसबुक पेजमार्फत त्यस्ता हल्लाका कारण भ्रममा नपर्न मतदातालाई सचेत गराएको छ । ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, पोष्टमा भनिएको छ, ‘ यस खालका झुठा पोष्टहरूप्रति सम्बन्धित सबै सजग रहनुहुन अनुरोध गर्दछौं ।’
सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउनेहरुमाथि कारबाही गर्न रास्वपाले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो दलको चुनाव अगाडि कसैसँग गठबन्धन गर्ने नीति नरहेको बताइन् । ‘रास्वपाले चुनाव अगाडि गठबन्धन गर्दैगर्दैन’, उनले भनिन्, ‘यो राजनीतिक भ्रष्टाचार हो भन्ने हामी मान्दछौं, यस्ता समाचारहरुका कारण भ्रममा नपर्न आग्रह गर्दछु ।’
आज भइरहेको उपनिर्वाचनमा रास्वपाका तर्फबाट चितवन–२ मा सभापति रवि लामिछाने, तनहुँ–१ मा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र बारा–२ नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेल उम्मेदवार छन् ।