बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान सुरु

काठमाण्डु टुडे २०८० वैशाख १० गते ७:२४ मा प्रकाशित

काठमाण्डु, १० वैशाख– बारा–२, चितवन–२ र तनहुँ–१ मा उपचुनावअन्तर्गत मतदान सुरु भएको छ ।

बिहान ७ बजेबाट सुरु मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट निर्वाचित काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त प्रतिनिधिसभा सदस्यमा उपनिर्वाचन भएको हो । गत ४ मंसिरको निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित भएका थिए ।

तर, नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाका कारण उनको उयपप्रधान तथा गृहमन्त्रीसहित सांसद पद पुगेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । उक्त निर्वाचन क्षेत्रबाट लामिछाने फेरि उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार तीनवटा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बारा–२ मा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

तनहुँ–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका ठडा. स्वर्णिम वाग्ले प्रतिस्र्धामा छन् । त्यस्तै चितवन–२ मा सत्ता गठबन्धनबाट काँग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपा सभापति लामिछानेबीच प्रतिस्पर्धा छ ।

निर्वाचनअघि गरिएको सर्वेक्षेणहरुले चितवन–२ मा लामिछाने र तनहुँ–१ मा वाग्ले अघि देखिएका छन् ।
निर्वाचन आयोगले मदतान केन्द्र र मदतान स्थलमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।

अत्याधिक गर्मीका कारण चितवन–२ का अधिकांश मतदान केन्द्रमा मतदाताका लागि पालको व्यवस्था गरिएको छ । चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । त्यहाँ १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् ।
बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन्  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us