यो गठबन्धन पाँच वर्ष चल्छ: प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १६:३२ मा प्रकाशित

काठमाण्ड, ९ वैशाख– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई सही विचारका आधारमा डोर्याउने प्रयास गरेको तर सफल नभएको बताएका छन ।

उनले कम्युनिष्टहरुले ल्याएको दुई तिहाई बहुमत बचाउन नसकेको बताउँदै त्यसलाई किन बचाउन सकिएन भन्ने सवालमा त्यसको जिम्मेवारी सबैले लिनुपर्ने बताए ।

अहिले कम्युनिष्टहरुको समूह धेरै भएपनि जनतामा लोकप्रिय कम्युनिष्ट पार्टी नै रहेको बताएका छन । आज शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नरबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले अझै कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना रहेको बताएका छन । उनले कम्युनिष्ट पार्टीलाई एउटा मुख्य शक्ति बनाउने प्रयासमा आफूहरु लागि परेको र त्यसमा सकारात्मक प्रगति भइरहेको बताएका छन ।

उनले यो अवसरमा सबैले एकता र सहकार्यका लागि नयाँ संकल्प लिनुपर्ने बताउँदै उनले सिद्धान्त र विचारमा प्रतिवद्ध रहेर कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता भएको बताएका छन ।

उनले अहिले गएको चुनावमा पनि सिद्धान्त र विचारलाई प्राथमिकतामा नराखेर भावनामा बगेर मान्छे चयन गर्ने काम गरेको बताउँदै उनले विचार र सिद्धान्तका आधारमा समाजलाई अगाडि बढाइएन भने समाज खतरामा जान सक्ने बताएका छन ।

उनले यो कुरा पार्टीमा मात्र होइन, अहिले मिडियामा पनि त्यस्तै देखिएको बताउँदै उनले मुलधारको मिडिया समाप्त हुने अवस्था गएको देखिएको बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले सोशल मिडिया र युट्युवहरु मुलधारमा आउन लागेको तर त्यसले राम्रो संकेत नदिएको बताएका छन । उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्नु अवसर भएको बताउँदै त्यसमा चुनौती पनि रहेको प्रस्ट पारेका छन ।

कम्युनिष्ट पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनको संस्कृतिलाई जोगाउँदै यसलाई पाँच वर्ष नै टिकाउने बताउँदै उनले यसका लागि सबै तयार रहनुपर्ने धारणा राखेका छन ।

अर्को प्रसंगमा उनले नरबहादुर कर्मचार्यसँगको सहकार्य स्मरण गर्दै उनीसँग एउटै परिवारजस्तो भएर ६ वर्षसम्म बसेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us