
काठमाण्डु, ६ वैशाख– कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सार्वजनिक संस्थामा अख्तियार प्रवेश गर्न खोज्नुलाई स्वभाविक र स्वागतयोग्य भएको बताएका छन ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘तीन वटै सरकारको पूर्ण वा आशिंक स्वामित्व रहेका संस्था बाहेक निजी क्षेत्र बैंक, मेडिकल कलेज, अस्पताल लगायतका सार्वजनिक संस्थाहरुमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्न खोजेको छ ।
यसलाई स्वभाविक रुपमा स्वागतयोग्य मान्न सकिन्छ’ । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकले बैंक,मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि अदुअआले अनुसन्धान गर्न पाउने व्यवस्था रहेको छ ।
तर, अख्तियारको क्षेत्राधिकार विस्तार गर्दै गर्दा अहिले प्राप्त क्षेत्राधिकारभित्रको विषय उपेक्षामा पर्न सक्नेतर्फ ख्याल गर्नुपर्ने उनले बताएका छन ।
प्रचलित ऐनअनुसार नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको सार्वजनिक संस्था र उक्त संस्थाको जिम्मेवारीमा रहेका व्यक्तिउपर मात्रै अनुसन्धान गर्न पाउने अदुअआको क्षेत्राधिकार हो ।
क्षेत्राधिकार विस्तार गर्दै राष्ट्रिय सभाले ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर, वा प्रकारका बैंक, वित्तीय संस्था, बीमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी सार्वजनिक संस्थामा हुने भ्रष्टाचार पनि अख्तियारले हेर्न पाउने गरी व्यवस्था पारित गरेर पठाएको छ ।