
काठमाण्डु ,२६ चैत -वैदेशिक रोजगारमा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने गिरोहमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपति अधिकारी र सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन् ।
यसअघि प्रहरीले गत शुक्रबार ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।उनीहरूले गिरोहलाई मृतक परिवारको सूचना दिएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।
बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाण्डु गोङ्गबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जनालाई चैत २३ गते पक्राउ गरेको थियो ।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।