
काठमाण्डु,२५ चैत– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
अनुगमनसँगै उनले अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका छन ।
गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी एवम् सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।
गृहमन्त्री श्रेष्ठले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटलाइज गर्न आवश्यक भएको उनले बताएका छन ।
विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उनले निर्देशन दिएका छन ।
निर्देशनात्मक मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताएका छन ।
उनले विमानस्थल प्रशासन नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुनु जरुरी रहेको बताएका छन ।