
काठमाण्डु,२५ चैत– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन । आज शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर उनले पार्टी त्याग गरेको घोषणा गरेका छन ।
पार्टी परित्यागका क्रममा उनले आफ्नो वक्तव्य पनि सार्वजनिक गरेका छन्। उनले भने, ‘ भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो’ भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।
उनले चैत २५ गतेदेखि एसको साधारण सदस्य समेत तथा सम्पूर्ण पार्टी जिम्मेवारी त्यागेको बताएका छन । उनले राष्ट्र राष्ट्रियताको पक्षमा वकालत गरी एक्काइसौं शताब्दीको समाजवादी वैज्ञानिक कम्युनिस्ट पार्टीको परिकल्पनामा आफूले नेकपा एकीकृत समाजवादी पार्टीको जिम्मेवारी लिएको बताएका छन ।
उनले भने,‘ सो समयमा सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टी पद्धति र पक्रिया विपरीत दलमा नेताहरु फसे र पार्टीका बेठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनीतिको चंगुलमा पार्टी नेतृत्व फस्यो । ’
उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए ।
उनले नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे ।
नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ—नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गरे ।