
काठमाण्डु,२० चैत–आगमी १० वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने बताइएको छ । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले जानकारी दिएका छन ।
यस क्षेत्रमा माओवादीको ८ हजार ४०७ समानूपातिक मत रहेको छ । पार्टीले उम्मेदवार नउठाउने भएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सघाउने अधिकारीले जानकारी दिएका छन ।
यस्तै तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको केन्द्रीय सदस्य आशा कोइरालाले जानकारी दिएकी छन ।
तनहुँका माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउनुपर्यो गत शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प प्रचण्डलाई दबाब दिएका थिए ।
तर सो क्षेत्रमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको उनले बताएकी छन । यस क्षेत्रमा माओवादीको ७ हजार ३२६ समानूपातिक मत रहेको छ । यस्तै बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।
उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिएका छन । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ३ हजार २६५ रहेको छ ।