
काठमाण्डु,६ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएको भोलिपल्टबाट इमान छोडेको आरोप लगाएका छन् ।
आज (सोमबार) संसद भवन ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ओलीले प्रचण्ड प्रधानमन्त्री भएपछि दक्षिणपन्थतिर लागेको बताएका छन ।
उनले भने, ‘हाम्रो प्रयासमा वामपन्थीसहितको सरकार बनाउन चाह्यौं । हामीले सरकार बनायौं । प्रधानमन्त्री हुनुथियो प्रधानमन्त्री भएको भोलिपल्टबाट उहाँले इमान छोड्नुभयो । बेइमानी सुरु गर्नुभयो’ ‘उहाँ इमानमा रहन सक्नुभएन भनौं ।
उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो ।’ प्रचण्ड प्रधानमन्त्री भएपछि राष्ट्रियता कमजोर भएको ओलीले बताएका छन । प्रचण्ड पार्टीभित्र जंगबहादुर भएको समेत ओलीले आरोप लगाएका छन ।
‘पार्टीका अरु नेताहरु अलमलमा वा दबाबमा हुनुहुन्छ । भन्न हुँदैन । प्रधानमन्त्रीजीमा जंगबहादुर शैली छ । उहाँले जे बोल्यो त्यहीँ हुन्छ । उहाँले अरुलाई बोल्न दिनुहुन्न । विपक्षमा बोल्यो भने पत्तासाप हुन्छ ।
अरुसँग मिलेको आरोप लाग्छ’ ओलीले भने, ‘उहाँले एकता हुन दिनुहुन्न । एकता जफ्ती भयो भने तोड्ने उद्योगमा लाग्नुहुन्छ । तोडेर छाड्नुहुन्छ त्यो विगतमा देखिएको छ ।’ २०७४ सालको चुनावमा तालमेल गरेर एकता गरेपनि प्रचण्डले एकता तोडेको ओलीले बताएका छन ।