
काठमाण्डु ,५ चैत- त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ ।
त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ ।
ती बाहेक अन्य क्याम्पसहरूमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ। निर्वाचनको प्रारम्भिक सूचनाअनुसार देशभरका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्रा। पशुपति अधिकारीले बताए।
देशभरका अढाई सय क्याम्पसहरूमा स्ववियु निर्वाचन भएका छन् छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन सम्पन्न भएको अधिकारीले बताए।
त्रिविले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेको थियो। कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिने बतायको छ।