माओवादीसँग पार्टी एकता गर्ने माधव नेपालको संकेत

काठमाण्डु टुडे २०७९ चैत ५ गते ८:२४ मा प्रकाशित

सिन्धुपाल्चोक, ५ चैत– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने दलसँग गठबन्धन र पार्टी एकता हुन सक्ने बताएका छन् ।

पार्टीको सिन्धुपाल्चोक जिल्ला अधिवेशनलाई शनिबार मेलम्चीमा उदघाटन गर्दै उनले विचार, मन र कार्यक्रम मिल्नेसँग एकता हुने बताए । मुलुकको समृद्धि र आर्थिक विकासका लागि विचार मिल्ने पार्टीहरुबीच एकता हुनुपर्ने उनको भनाइ थियो । उनको संकेत नेकपा माओवादी केन्द्रतर्फ थियो ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दलसहित एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल समाजवादी पार्टीले समाजवादी मोर्चा निर्माण गरेर अघि बढ्ने तयारी गरेको बताउँदै आएका छन् । अध्यक्ष नेपालले नेपालमा कम्युनिष्ट शक्ति अझै लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट पार्टी एक हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले एमालेसँग पनि एकता अस्वीकार गरे । ‘आफ्नो गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन र एकता हुन सक्दैन,’ एमालेतर्फ लक्षित गर्दै उनले भने ।

नेपालले गणतन्त्र र संविधानको रक्षाका लागि वर्तमान सत्ता गठबन्धन निर्माण भएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us