चैनपुरमा घरमै चट्याङ लागेर महिलाको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख ३१ गते २१:३० मा प्रकाशित

संखुवासभा, ३१ वैशाख- संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए ।

उनलाई घरमै बसिरहेका अवस्थामा चट्याङ लागेको थियो । गम्भीर घाइते भएकी निर्मलालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यहीँ मृत्यु भएको श्रेष्ठले बताए ।

त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्मलाको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। संखुवासभामा चट्याङ लागेर एक वर्ष अवधिमा पाँच जनाको मृत्यु भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us