
काठमाण्डू, ३१ वैशाख- सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगमा पाँचपाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिफारिस समितिको सिफारिसका आधारमा दुई आयोगमा नियुक्ति गरिएको बताए । उनका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई नियुक्त गरिएको छ ।
यस्तै सत्यनिरुपण आयोगमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा सदस्य नियुक्त भएका छन् ।
बेपत्ता खोजबिन आयोगमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सृजना पोखरेल र सदस्य विनिता नेपाली नियुक्त भएको गुरुङले जानकारी दिए ।
दलीय भागबण्डामा पदाधिकारी नियुक्त गरिएको र पीडितका प्रतिनिधिलाई नराखिएको भन्दै द्वन्द्व पीडितका विभिन्न संस्थाको विरोध जारी रहेका बेला सरकारले दुई आयोगमा पदाधिकारी नियुक्त गरेको हो । दुवै नवनियुक्त पदाधिकारी र सदस्यको कार्यकाल ४ वर्षको हुनेछ ।