काठमाण्डु, ५ साउन– सरकारले इजाजत नलिई राखिएका हतियार यो महिनाभित्र बुझाउन सार्वजनिक अपिल गरेको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गरी आगामी साउन मसान्तसम्म त्यस्ता हतियार बुझाउन आग्रह गरेको हो । मुलुकका विभिन्न स्थानमा भएका आपराधिक घटनामा अवैधानिक हतियार प्रयोग भएको गुनासो बढेपछि सरकारले हतियार बुझाउन भनेको हो ।
गृहले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा हतियार बुझाउन आग्रह गरेको छ । सो अवधिमा हतियार नबुझाउनेलाई पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने चेतावनी दिएको छ ।