महाकालीमा वर्षा रोकिएपछि विस्थापित घर फर्किए

काठमाण्डु टुडे २०७१ साउन ५ गते २:२५ मा प्रकाशित

काठमाण्डु, ५ साउन– महाकाली नदीमा आएको बाढीका कारण विस्थापित कञ्चनपुरका सर्वसाधारण वर्षा रोकिएपछि घर फर्कन थालेका छन् ।
शुक्रबार रातिदेखि अविरल परेको वर्षा आज बिहानदेखि रोकिएपछि जनजीवन सामान्य भएको हो ।

बाढीका कारण भीमदत्त नगरपालिकाको भुजेला र महाकाली पारिको दोधारा क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । बाढीको भंगालो बस्तीमा आउन थालेपछि दोराधाका १ सय ३०, बेलौरीमा ६० र भुजेलाका ४० परिवार घरबार छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए ।

वर्षात रोकिएसँगै सर्वसाधारण घर फर्कन सुरु गरेको पत्रकार केशवराज जोशीले जानकारी दिए । यसैबीच बाढी रोकिएसँगै स्थानीय प्रशासनले प्रभावित व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने भएको छ । प्रभावितलाई खाद्यान्न, लत्ताकपडा र औषधिलगायत सामग्री वितरण गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us