एमाले सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १२:३४ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– नेकपा एमालेको सचिवालय बैठक जारी छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई नेकपा (माओवादी   केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छन । एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्व सभामुख सुवास चन्द्र नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलसँग रहेका छन । राष्ट्रपतिको निर्वाचन २५ फागुन हुँदैछ । राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए ।

तर आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज पुनः सुरु भएको छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारमा रहने कि नरहने भन्ने विषयमा आजको बैठकमा छलफल हुने पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us