
काठमाण्डु,१५ फागुन– एमालेको सचिवालय बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्दै छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।
एमालेका महासचिव शंकर पोख्रेलले मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्न लागेको जानकारी दिएका छन । राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए ।
आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज उठेको छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारमा रहने कि नरहने भन्ने विषयमा आजको बैठकमा छलफल हुनसक्ने बताएकी छन ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने जानकारी दिएका छन ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।