बैतडीमा पिकनिक गएका युवक मृत भेटिए

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १८:३१ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– बैतडी जिल्लामा वनभोज गएका युवक मृत अवस्थामा फेला परेका छन् । दशरथचन्द नगरपालिका–१० का २५ वर्षीय जीवन बुडाल शनिबार राति मृत अवस्थामा फेला परेका हुन ।

शनिबार साथीहरुसँगै वनभोज गएका बुडाल राति दशरथचन्द नगरपालिका–६ शेरास्थित चौलानी नदीको बगरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले जानकारी दिएका छन । नदीको दुई किनार भएर बग्ने बीचको बगरमा बुडालको शव भेटिएको उनले बताएका छन ।

बुडालको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पतालमा राखिएको डीएसपी शाहीले जानकारी दिए । उनी राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेको खुलेको प्रहरीले बताएको छ । बझाङमा कार्यरत उनी विदामा घर आएका बेला शनिबार साथीहरुसँग वनभोज खान गएका थिए ।

यसैबीच बुडाल मृत भेटिएको घटनामा शंकास्पद १२ जनामाथि अनुसन्धान थालिएको छ । बुडालसँगै वनभोज खान गएकामध्येका साथी, आफन्त र नातागोता पर्ने १२ जनामाथि अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us