
काठमाण्डु,१४ फागुन– प्रहरीले डडेल्धुराबाट बाघको हड्डीसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका सञ्चालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका सञ्चालक २७ वर्षीय वीरबहादुर ओली रहेका छन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
दुवैजनालाई शनिबार राति साढे १२ बजे अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिएका छन । पक्राउ परेका जैसी र ओलीलाई आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।