
काठमाण्डु,१४ फागुन– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अहिलेका शासकहरुले गठबन्धनका नाममा देशलाई अधोगतितर्फ धकेल्ने काम भइरहेको बताएका छन ।
सुवालले त्यसका विरुद्धमा नेमकिपाले संघर्ष जारी राखेको बताएका छन । आज (आइतबार) वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘स्थानीय र संघको चुनावमा हाम्रो दलले पैसा दिन नसक्दा हार व्यहोरेको हो, जनतालाई घोषणा पत्र दियौं तर पैसा दिन सकेनौं ।’
सुवालले अन्य पार्टीहरुले एक निर्वाचन क्षेत्रमा १५ देखि २० करोड बाँडेको आरोप लगाएका छन । सुवालले जेल हाल्नुपर्ने मन्त्री र प्रधानमन्त्रीलाई अब सिंहदरबार प्रवेशमा रोक लगाउनुपर्ने दिन आएको बताएका छन ।
उनले देशमा घात गर्ने र गठबन्धनका नाममा देशलाई अधोगतितर्फ लैजाने शासक विरुद्धमा आफुहरुले जनताको पक्षमा आवाज उठाउँदै आएको बताएका छन ।