गुनासो सुन्न प्रहरीको नागरिक कार्यक्रम

काठमाण्डु टुडे २०७१ साउन ५ गते २:०३ मा प्रकाशित

महोत्तरी, ५ साउन– प्रहरीले आफ्नो काम र जनताको गुनासो सुन्नका लागि महोत्तरीको जलेश्वरमा नागरिक सुनुवाइ अभियान सुरु गरेको छ ।
नागरिक सुनुवाइ अभियानमा जाँडरक्सी उत्पादन र बिक्रीवितरणमा प्रतिबन्ध लगाउन स्थानीयले प्रहरीसँग अनुरोध गरेका थिए ।

शान्तिसुरक्षा बहाल लागुऔषध गाँजा तस्करी नियन्त्रण र प्रहरी जनता मैत्री बन्नुपर्नेमा नागरिक समाजका अगुवाले कार्यक्रममा जोड दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल पन्तले जनता सादा पोसाकका प्रहरी भएकाले अवैध गतिविधि निरुत्साहित गर्नुपर्ने बताए ।
गुण्डागर्दी, लागुऔषध नियन्त्रण तथा सवारी नियम कडाइका साथ लागू गराउन, अपराध र विकृतिमुक्त जिल्ला बनाउने योजनाअनुरुप विशेष अभियान सुरु गरिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।
उनका अनुसार अभियानका लागि जिल्ला प्रहरी कार्यालयका अतिरिक्त जिल्लामा रहेका प्रहरीका सबै युनिटलाई निर्देशन दिइएको छ । उक्त अवसरमा श्रेष्ठले जिल्लाको शान्तिसुरक्षा र अपराध सम्बन्धी त्रिवार्षिक प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा नागरिक अगुवा, अधिकारकर्मी, पत्रकार र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । नागरिक सुनुवाइ कार्यक्रम प्रहरीका ३७ वटै युनिटमा सञ्चालन गरिने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us