जसपा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १४:२९ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– राष्ट्रियसभाले जनता समाजवादी पार्टीको प्रतिनिधिसभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज (आइतबार) बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेका छन ।

बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने, ‘विक्रम संवत् २०१६ साल जन्मनु भएको प्रतिनिधिसभा सदस्य शहनाज रहमानको मिति २०७९ साल फागुन १३ गते ६३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।

झापा भद्रपुर निवासी स्वर्गीय रहमान जनता समाजवादी पार्टी, नेपालको तर्फबाट २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुहुन्थ्यो । यो बैठक स्वर्गीय रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गम्भीर समवेदना प्रकट गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us