माओवादी चाहन्छः एमालेसँगै राप्रपा पनि सरकारबाट बाहिरियोस्

काठमाण्डु टुडे २०७९ फागुन १३ गते १०:०७ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– राष्ट्रपतिमा काँग्रेसलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रले एमालेसँगै राप्रपाले पनि सरकार छाडोस् भन्ने चाहेको छ ।

सरकारमै सहभागी मन्त्रीहरुले समेत खुलेआम राजतन्त्र पुनस्र्थापना र संघीयता खारेजी हुनुपर्ने अभिव्यक्ति दिँदै हिंडेकाले राप्रपा सरकारमा टाँसिएर नबसोस बन्ने चाहेको माओवादी केन्द्रका एक नेताले बताए । गत १० पुसमा एमाले, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमतसहित ७ दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनकै नेतृत्वमा सरकारमा सहभागी छ ।

खुलेआम राजतन्त्रको वकालत गरिरहेको राप्रपा सरकारमा राख्दा ज्ञानेन्द्र शाहको प्रत्यक्ष संलग्नतामा दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्र पुनस्र्थापनाको अभियान सुरु हुनुलाई गम्भीर रुपमा लिइएको ती नेताले बताए । ‘एकथरी राजावादीहरु सरकारमै बसेर ज्ञानेन्द्र जिन्दावाद भन्ने, अर्कोथरी ज्ञानेन्द्रकै नेतृत्वमा सडकमा प्रदर्शन गर्ने अवस्था देखिएको छ’, ती नेताले भने, ‘राष्ट्रपति नपाएको झोकमा एमालेले सरकार छाड्न सक्ने देखिएको छ, एमालेसँगै राप्रपा पनि बाहिरिए हुन्थ्यो भन्ने हामी चाहन्छौं ।’

उनले एमाले र राप्रपा बाहिरिए काँग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी र केही स्वतन्त्र सांसदले सरकारलाई समर्थन गर्ने बताए । यद्यपि एमाले र राप्रपाले सरकार छाड्ने नछाड्ने भन्नेबारे औपचारिक निर्णय लिन बाँकी छ । दुवै दलले त्यसबारे निर्णय लिन आकस्मिक बैठक डाकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us