स्थानीय तहबाट शिक्षकको सरुवा र राजीनामा गराउने धम्की आयोः शिक्षक महासंघ

काठमाण्डु टुडे २०८२ वैशाख १४ गते १४:१९ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– नेपाल शिक्षक महासंघले स्थानीय तहबाट शिक्षक र कर्मचारीहरूलाई धम्की आएको दाबी गरेको छ । महासंघले विज्ञप्ति निकालेर स्थानीय तहबाट सरुवा र राजीनामा गराउने धम्की आएको बताएको छ । महासंघकाअध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरेको यसबारे बताएका हुन ।

महासंघकाअध्यक्ष सुवेदी र महासचिव थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक, शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन् ।’ महासंघले देशभरका शिक्षकलाई काठमाण्डू आउन समेत आग्रह गरेको छ ।

‘अब दरिलो र अन्तिम धक्का आवश्यक भएको छ । यस निर्णायक घडीमा देशभरका सबै शिक्षक–कर्मचारी साथीहरुलाई काठमाण्डू आउनुहुन आग्रह गर्दछौं,’ महासंघले भनेको छ । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाण्डू केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us