काठमाण्डू, २३ असार– फिफा विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) राति अर्जेन्टिनाले अन्तिम १६ मा अफ्रिकन राष्ट्र इजिप्टसँगको प्रतिस्पर्धा गर्दा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीका लागि अर्को ऐतिहासिक उपलब्धिको अवसर समेत प्रप्त गर्ने छन ।
तीनपल्टको विश्व च्याम्पियन अर्जेन्टिना र उत्तरपूर्वी अफ्रिकी राष्ट्र इजिप्ट जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यसहित मंगलबार राति अमेरिकाको एटलान्टामा आमनेसामने हुँदै छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ ।
इजिप्ट भने इतिहास रच्दै पहिलोपल्ट विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना बोकेर मैदान उत्रिदैँ छ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी पनि अर्को ऐतिहासिक उपलब्धिको संघारमा छन् । यो विश्वकप जितेमा उनी लगातार दुईवटा विश्वकप जित्ने कप्तान बन्नेछन्। अर्जेन्टिनाले अन्तिम–३२ चरणमा केप भर्डेलाई ३–२ ले हराउँदै अन्तिम–१६ को यात्रा तय गरेको हो ।
दुई पटक अग्रता गुमाए पनि अन्तिम समयमा क्रिस्टियन रोमेरोको हेडर विपक्षी खेलाडी डिनेय बोर्जेसबाट डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा अर्जेन्टिना रोमाञ्चक जित हात पार्न सफल भएको थियो । त्यो गोलसँगै जारी विश्वकपमा मेसीको गोलसंख्या सात पुगिसकेको छ ।
उनीसँगै फ्रान्सका किलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्डको पनि सात गोल छ । इङ्ल्यान्डका ह्यारी केन पनि ६ गोलसहित पछ्याउँदै गोल्डेन बुटको दाबेदारमा उभिएका छन् । मेसी दुई फरक विश्वकपमा कम्तीमा ७ गोल गर्ने इतिहासकै पहिलो खेलाडी बने पनि फ्रान्सका एमबाप्पेले पाराग्वेविरुद्ध निर्णायक पेनाल्टी गोल गर्दै उक्त उपलब्धि बराबरी गरे । इजिप्टविरुद्ध पनि गोल गरे मेसी सन् १९३० मा गिलेर्मो स्टाबिलेपछि एउटै विश्वकपमा आठ गोल गर्ने दोस्रो अर्जेन्टिनी खेलाडी बन्नेछन् ।
तर, अर्जेन्टिनालाई खेलाडीहरूको शारीरिक अवस्थाले चिन्तित बनाएको छ । मियामीको अत्यधिक गर्मीमा अतिरिक्त समयसम्म खेलेपछि टोलीलाई पुनः तयारीका लागि निकै छोटो समय मात्र मिलेको छ । केप भर्डेविरुद्ध फाकुन्डो मेडिनालाई चोट भएको थियो । एन्जो फर्नान्डेज र निकोलस गोन्जालेज पनि चोटका बावजुद अन्तिमसम्म मैदानमा टिक्न बाध्य भएका थिए । किनभने प्रशिक्षकसँग खेलाडी परिवर्तन बाँकी थिएन ।
मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले खेलपछि टोलीको संघर्षपूर्ण जितको प्रशंसा गर्दै अब कमजोरी सुधार्नुपर्ने बताएका छन् । अर्जेन्टिनाको आक्रमण भने निरन्तर प्रभावशाली देखिएको छ। टोलीले विश्वकपका पछिल्ला १० खेलमा लगातार कम्तीमा दुई गोल गरेको छ। इजिप्टविरुद्ध पनि दुई वा सोभन्दा बढी गोल गर्न सफल भए अर्जेन्टिना विश्वकप इतिहासमा लगातार ११ खेलमा दुई वा बढी गोल गर्ने दोस्रो राष्ट्र बन्नेछ ।
यसअघि उरुग्वेले सन् १९३० देखि १९५४ सम्म यस्तो उपलब्धि पाएको थियो । इजिप्ट पनि उत्कृष्ट आत्मविश्वासका साथ मैदानमा उत्रँदै छ। अन्तिम–३२ चरणमा उसले अस्ट्रेलियासँग निर्धारित र अतिरिक्त समय १–१ को बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै अन्तिम–१६ मा स्थान बनाएको थियो। यससँगै इजिप्टले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
इजिप्ट अफ्रिकाबाट विश्वकपको क्वार्टरफाइनल पुग्ने पाँचौं राष्ट्र बन्ने लक्ष्यमा छ। यसअघि क्यामरुन, सेनेगल, घाना र मोरक्कोले मात्र यो सफलता पाएका छन् । अस्ट्रेलियाविरुद्धको खेलअघि स्टार फरवार्ड मोहम्मद सालाहको ह्यामस्ट्रिङ चोटबारे चिन्ता व्यक्त गरिएको थियो। तर उनले पूरा १२० मिनेट खेले र पेनाल्टी सुटआउटमा आकर्षक चिप प्रहारमार्फत गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।
यस विश्वकपमा सालाहले १६ वटा गोलका अवसर सिर्जना गरिसकेका छन् । अर्जेन्टिनालाई स्तब्ध पारे इजिप्टको क्वार्टरफाइनल भेट कोलम्बिया वा स्विट्जरल्यान्डमध्ये एकसँग हुनेछ । विश्वकप इतिहासमा अर्जेन्टिना र इजिप्ट पहिलोपटक आमनेसामने हुन लागेका हुन् । सन् २००८ मा कायरोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २–० को जित निकालेको थियो । इतिहास पनि अर्जेन्टिनाकै पक्षमा छ ।
विश्वकपमा अर्जेन्टिनाले अफ्रिकी टोलीविरुद्ध लगातार आठ खेल जितेको छ । यस संस्करणमै उसले अल्जेरिया र केप भर्डेलाई हराइसकेको छ । इजिप्टलाई पनि पराजित गर्दा एउटै विश्वकप संस्करणमा तीन अफ्रिकी राष्ट्रलाई हराउने पहिलो टोली बन्नेछ । एक विश्लेषणले पनि अर्जेन्टिनालाई स्पष्ट रूपमा बलियो दाबेदार मानेको छ। निर्धारित ९० मिनेटभित्रै जित निकाल्ने सम्भावना अर्जेन्टिनाकै बढी देखिएको छ।
तर दुवै टोलीले अघिल्लो चरणमा अतिरिक्त ३० मिनेटसम्म खेल्नुपरेको, खेलहरूबिचको विश्राम समय छोटो रहेको र खेलाडीहरूको थकान तथा चोटको असर देखिन सक्ने भएकाले यो प्रतिस्पर्धाको नतिजा तय गर्न फिटनेस पनि उत्तिकै निर्णायक बन्न सक्छ। मेसी अर्को इतिहास रच्ने लक्ष्यमा हुँदा इजिप्ट भने अफ्रिकी फुटबलको अर्को स्वर्णिम अध्याय लेख्ने आशासहित मैदानमा उत्रनेछ ।