
काठमाण्डू, २३ वैशाख– काठमाण्डूको नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको घटनामा महान्यायाधिवक्ताको कार्यालयले १७ जना विरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ताको कार्यालयले स्रोतले जानकारी दिएको छ ।
मुद्दा चलाउने निर्णयसहित प्रक्रिया अघि बढेको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन । गत माघ १५ मा जिल्ला सरकारी वकिल कार्यालयले निर्णय गरेर सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा फाइल पठाएकोमा उच्चले महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा नचलाउन सिफारिसहित स्वीकृतिका लागि फाइल पठाएको थियो ।
दुई तहको सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने भनेर भएको निर्णय सदर गराउनका लागि महान्यायाधिवक्ता समक्ष फाइल लगिए पनि अनुसन्धान प्रतिवेदनबाट मुद्दा चलाउने निर्णय भएको सहमहान्यायाधिवक्ता दाहालले जानकारी दिएका छन ।
बाल संगठनको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको आरोप प्रतिवादीहरूमाथि छ ।