
विदुर, १३ फागुन– अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको विरोधमा पीडित परिवार र स्थानीयले पासाङ ल्हामु राजमार्ग बन्द गराएका छन् ।
स्थानीयले राजमार्गको गल्छी–त्रिशूली खण्डको पिललटारमा सडक अवरुद्ध गरेका हुन् । विदुर नगरपालिका–५ ५ पिपलटारकी २४ वर्षीया सरिता न्यौपानेको ८ फागुनमा त्रिशूली अस्पतालमा शल्यक्रिया गरी शिशु निकालिएको थियो । स्वास्थ्यमा समस्या भएपछि न्यौपानेलाई उपचारका लागि ल्याइएकोमा १० फागुनमा मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी, विदुर नगरपालिकाका मेयर, अस्पताल प्रशासन र पीडित पक्षबीच दोषीमाथि कारबाही गर्ने सहमति भए पनि अस्पतालले सहमतिविपरीत विज्ञप्ति जारी गरेको आरोप स्थानीयले लगाएका छन् । मृतकका श्रीमान् भिमसेन गजुरेलले दोषीमाथि कारबाही गर्ने सहमति भए पनि अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा उक्त विषय समावेश नगरिएको बताए ।
मृतक परिवारले रकमका लागि सौदाबाजी गरेको सन्देश प्रवाह हुने गरी विज्ञप्ति जारी गरिएको आरोप उनले लगाए ।