
काठमाण्डु,९ फागुन– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङ जिल्लाको धादिङवेशीमा भएको छ ।
प्रतिष्ठानले आज मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औं साधरणसभा हुने आगामी फागुन १२ देखि १४ गतेसम्म हुने जानकारी दिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताएका छन ।
कलाकर्मीहरूलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको पनि उनले बताएका छन । उनले सबै फूलहरूलाई फुलाउँछु भनेर बार लगाए पनि त्यस्तो सम्भव नभएको बताएका छन । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरू लागिपरेको उनले स्मरण गराए ।
उनले आफूले पाएको समय भरपुर सदुपयोग गर्ने कोसिस गरेको पनि बताएका छन । उनले आफूले कतिपय काम प्रचारमा ल्याउन नचाहेर केही काम गर्न नसकेको भन्ने आरोप आफूलाई लाग्ने गरेको बताएका छन । ‘प्रतिष्ठानको अध्यक्षका हैसियतले इमानदारिताका साथ म आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगेको छु ।
यो कार्यकाल सफल गर्नका लागि मलाई पूर्व अध्यक्षज्यूहरूको विश्वास, सहयोग र साथले मलाई बढी हौसला दियो,’ उनले भने । कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य अमृत अधिकारी र राजकुमार रायमाझीलाई दिइएको बताएका छन । साथै, जिम्मेवारी पाएका व्यक्तिहरूले गरेको निमन्त्रणा स्विकारेर कार्यक्रममा उपस्थित भइदिन पनि उनले सबैलाई आग्रह गरेका छन ।