
काठमाण्डु,८ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरु राष्ट्रपति निर्वाचनका बेलामा पनि एक ठाउँमा हुनुपर्ने बताएका छन ।
आज (सोमबार) पोखराको लेखनाथमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा रहेका शक्ति राष्ट्रपति निर्वाचनका बेला पनि मिल्नुपर्ने बताएका छन ।
उनले भने, ‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो’ । उनले आफूहरुले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्ने बताएका छन ।
उनले भने, ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन’ ‘राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’ प्रधानमन्त्री प्रचण्डले २ महिना जनताका बीचमा गएर उनीहरुको कुरा सुन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।