सुशासन र समृद्धिको लागि शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन ८ गते १६:२१ मा प्रकाशित

काठमाण्डु,८ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन ।

आज (सोमबार) पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी, ढुङ्गेपाटनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले सरकार संविधानको व्यवस्था अनुरुप निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको पनि बताएका छन ।

सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताउँदै विश्वविद्यालयका कुलपतिसमेत रहेका उनले शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावहरूको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्ने बताएका छन ।

उनले भने, ‘विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमबाट स्वदेशमा नै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाइँहरूको काँधमा छ । ’ उनले भूकम्प, कोभिड, रसिया युक्रेनयुद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा पारेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा पारेको बाछिटालाई न्यूनीकरण गर्न राज्यले आम नागरीकको ज्ञान र सीपको अपेक्षा गरेको बताएका छन ।

‘अर्कोतर्फ वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने सङ्कटबाट मुलुकलाई जोगाउने जिम्मेवारी तपाईहरूको काँधमा आएको छ ’ प्रधानमन्त्री दाहालले भने । उनले विश्वविद्यालायबाट प्राप्त ज्ञानलाई मुलुकमा उत्पादन, रोजगारी सिर्जना, शान्ति, स्थिरता र समग्र विकासको क्रमसँग जोड्न सक्नुपर्ने बताएका छन । उनले सिकाइलाई जीवनपर्यन्त प्रयोगमा ल्याउने, भावी पुस्तालाई उक्त ज्ञानको हस्तान्तरण गर्ने र नवप्रवर्तन र उद्यमशीलता प्रयोग गरी समाजको रुपान्तरणमा ठोस् योगदान पुर्याउनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us