
काठमाण्डु,७ फागुन– नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने बताएका छन ।
आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नु पर्ने बताएका छन ।
उनले भने, ‘अहिले शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ ।’
उनले जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरुको अडान रहेको उनले बताए ।
उनले माओवादी केन्द्रले कुनै पात्र नभई अहिले वैचारिक र नीतिगत कुरा उठाएको भन्दै स्थिरता र राष्ट्रियताका लागि राष्ट्रिय सहमति र सहकार्य आवश्यकता औंल्याएको बताएका छन ।
उनले राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा चयन हुने दाबीसमेत गरे । सत्ता पक्ष र विपक्षको रुपमा परिकल्पना गरिएको प्रधानमन्त्री पदमा समेत सहमति भएको बताउँदै उनले प्रश्न गरे, ‘ सत्तापक्ष र विपक्ष परिकल्पना नगरिएको ठाउँमा सहमति हुननसक्ने कारण के क्वेसन यो हो ।’