
काठमाण्डू, १३ वैशाख– लुम्बिनी प्रदेशमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् । यो कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी रहेका थिए ।
कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले जानकारी दिएका छन ।
कार्यक्रम बहिष्कार गरेका गुप्ता लुम्बिनीकै स्थानीय बासिन्दा हुन । एमाले नेता समेत रहेका मन्त्री ढकालले बहिष्कार भन्दा पनि प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँ समेत व्यवस्था नभएको देखेपछि उभिएर बस्न सम्भव नदेखेर कार्यक्रम स्थल बाट हिँडेको प्रतिक्रिया दिएका छन । सांसद गुप्ताले भने संगीत सरकार मातहत रहेकाले लुम्बिनी विकास कोषले प्रदेशका मन्त्री, सांसद र स्थानीयलाई बारम्बार अपेक्षा गर्ने गरेको टिप्पणी गरे ।
उनले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषमा प्रदेशको अधिकार र अपनत्वको लागि अब बहस चलाएर अधिकार बाँडफाँट हुनुपर्ने बताए । ‘लुम्बिनीका स्थानीयले आफ्नो जग्गा दिएर संरक्षण गरेर विकास कोष बनेको हो, यति धेरै संरचना बनेका हुन् तर कोषले स्थानीयलाई न अपनत्व दिलाएको छ न सम्मान दिएको छ’, ‘ गुप्ताले भने अब हामी स्थानीयको सहयोगमा आफ्नो अधिकार स्थापित गर्न लाग्छौं ।’
लुम्बिनी बचाउ संघर्ष समितिका रामविकास चौधरीले कोषको व्यवहारबाट स्थानीय सन्तुष्ट नभएको र कोषलाई प्रदेश सरकार मातहत ल्याई पदाधिकारी स्थानीय हुनुपर्ने माग विगत देखि राख्दै आएको बताए । वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो ।