
काठमाण्डू, २३ वैशाख– एमाले सचिव समेत रहेका प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका थिए ।
त्यसक्रममा प्रचण्डले व्यक्त गरेको विचारको आलोचना गर्दै सांसद भट्टराईले सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न प्रचण्डलाई सुझाव दिएका हुन । ‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया ।
उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नहोस्,’ योगेशले भनेका छन् । नेपालको संविधानको धारा ७६ अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक हुने त्यही व्यवस्था अनुसार केपी ओलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक हुने ?
भन्ने उनको प्रश्न छ । झापाको दमकमा बनेको भ्युटावरको आलोचना नगर्न पनि उनको आग्रह छ । कुनै अपराध गरेको जस्तो गरेर भ्युटावरको विरोध गरेर गीत नगाउन उनको विपक्षी दलहरूलाई आग्रह छ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको विषयमा विरोध गरेकोमा पनि सांसद भट्टराईले आलोचना गरे ।
‘एक जना सहसचिवलाई सरकारले हटाएकोलाई मुटु नै फुटेको जस्तो गर्नुभयो,’ एमाले सांसद भट्टराईले भने । शिक्षकको आन्दोलनका विषयमा प्रचण्डले शिक्षकलाई सडक नछोड्न भनेर अभिव्यक्ति दिएका थिए । भट्टराईले त्यसको पनि आलोचना गरे ।