६ गाविस कार्यसम्पादन मूल्याङ्कनमा अनुत्तीर्ण

काठमाण्डु टुडे २०७१ साउन ४ गते ८:४५ मा प्रकाशित

इलाम, ४ साउन – इलामका ६ गाउँ विकास समिति न्यूनतम कार्यसम्पादन मूल्याङ्कनमा अनुत्तीर्ण भएका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत वित्तीय आयोगले निर्धारण गरेको न्यूनतम सर्तमा इरौँटार, जिर्मले, आमचोक, श्रीअन्तु, साँखेजुङ र समालबुङ गाविस अनुत्तीर्ण भएका हुन् ।

वित्तीय आयोगको सचिवालयले सार्वजनिक गरेको आव २०६९÷०७० मा न्यूनतम सर्त तथा कार्यसम्पादन मूल्याङ्कनमा यी गाविस अनुत्तीर्ण भएका हुन् । यसअघि इलामका पाँच गाविसले न्यूनतम सर्त पूरा गरेका थिएनन् ।

समालबुङ गाविस यसअघि पनि अनुत्तीर्ण भएको थियो । न्यूनतम सर्त पूरा नगर्ने गाविसको अनुदान १० प्रतिशतले कटौती हुने जिल्ला विकास समितिले जनाएको छ ।

गाविसले नियमित रूपमा कार्यसम्पादन गर्नुपर्ने आर्थिक व्यवस्थापन, लेखा परीक्षण, योजना तर्जुमा, कार्यालय व्यवस्थापनलगायतका छ वटा सूचकका आधारमा मूल्याङ्कन गरिएको र ती सूचक पूरा नगरेकाले न्यूनतम कार्यसम्पादन मूल्याङ्कनमा गाविस अनुत्तीर्ण भएको जिविसका लेखा अधिकृत दिनेश पोखरेलले जानकारी दिए ।

आयोगले जिल्लाका ४८ गाविसमध्ये साँखेजुङ, श्रीअन्तु र मङ्गलबारेलाई नमुनाका रूपमा छनोट गरी न्यूनतम सर्त तथा कार्यसम्पादन ठीक भए, नभएको पुनः मूल्याङ्कनसमेत गरेको थियो ।

न्यूनतम कार्यसम्पादन मूल्याङ्कनमा इलाम नगरपालिकाले ७२ अङ्क प्राप्त गरेको छ । धनुकटा नगरपालिकाले ८८ अङ्क प्राप्त गरेर पहिलो स्थान कायम गरेको छ भने इलाम नगरपालिका २२औँ स्थानमा परेको छ ।

राम्रो अङ्क ल्याउने नगरपालिकाले २० प्रतिशतसम्म थप अनुदान पाउने लेखा अधिकृत पोखरेलले बताए । इलाम नगरपालिकाले अङ्कका आधारमा १० प्रतिशत थप अनुदान पाउने भएको छ । २०६९ सालको नतिजामा इलाम नगरपालिकाले ८९ अङ्क प्राप्त गरेको थियो ।

जिल्ला विकास समिति इलामले ६९ अङ्क प्राप्त गर्दै न्यूनतम कार्यसम्पादन मूल्याङ्कनमा उत्तीर्ण भएको छ । देशका ७५ वटा जिविसमध्ये इलाम २६औँ स्थानमा परेको छ ।

जिविसले नेपाल सरकारबाट १० प्रतिशत थप अनुदान पाउने लेखा अधिकृत पोखरेलले जनाए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us