गरिबी हटाउन शासकीय व्यवस्थापनमा लाग्न ओलीकाे आग्रह

काठमाण्डु टुडे २०७१ साउन ४ गते ८:३८ मा प्रकाशित

काठमाण्डु, ४ साउन – नेकपा एमाले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शासकीय अव्यवस्थापनका कारण नेपालमा गरिबी र पछौटेपन कायम रहेको भन्दै समृद्ध नेपाल निर्माणका लागि लाग्न पार्टी केन्द्रीय सदस्य र सभासद्हरुलाई आग्रह गरेका छन् ।

kp oliएमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूका लागि आइतबार आयोजित दिवाभोज कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसारमै पाउन नसकिने प्राकृतिक स्रोत साधन, वन्यजन्तु र जीवजन्तु पाइने नेपालमा तिनको उचित सदुपयोग हुन नसकेको बताए ।

उनले शासकीय अवस्थाका कारण यस्तो अवस्था उत्पन्न भएको जनाउँदै परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तोकिएको समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि सक्रिय हुन पनि अपिल गरे ।

अध्यक्ष ओलीले गरिबी र पछौटेपन हटाउन लोकतान्त्रिक जनआन्दोलनको मर्म र भावनाअनुसार जनताको परिवर्तनप्रतिको चाहनालाई संविधानमा समावेश गरेर मुलुकको समृद्धितर्फ लाग्न आग्रह गरेको केन्द्रीय सदस्य भानुभक्त ढकालले जानकारी दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल र अन्य पदाधिकारी र केन्द्रीय सदस्य सहभागी थिए । तर निवर्तमान अध्यक्ष झलनाथ खनाल पत्थरीको उपचार तथा नेता माधवकुमार नेपाल भारतमा रहेका कारण अनुपस्थित रहेका ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us