काठमाण्डु, ४ साउन– एकीकृत माओवादीले जलविद्युत्लगायत राष्ट्रलाई दीर्घकालीन असर पर्ने विषयमा राष्ट्रिय सहमति कायम गरेर मात्र प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी समितिबैठकले भारत सरकारसँग गरिन लागेको विद्युत् व्यापार सम्झौतालगायतका विषयमा सर्वपक्षीय सहमतिको आवश्यकता रहेकोमा जोड दिएको हो ।
नेपालको जलस्रोतका बारेमा प्रचारमा आएका विषयमा ध्यानाकर्षण भएको भन्दै एमाओवादीले प्रतिपक्षसँग छलफलै नगरी, प्रधानमन्त्री पनि नभएको बेलामा विवादास्पद प्रस्ताव अगाडि बढाउन नहुने ठहर गरेको सो मुख्य सचिव हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा पार्टीको सङ्गठनात्मक संरचना निर्माणसम्बन्धी प्रस्तावमा समेत छलफल भएको बताए । महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सचिवहरूको टिमले साङ्गठनिक संरचनाको प्रस्ताव तयार पारेको थियो । स्थायी समितिको बैठक सोमबार बिहान ११ बजे पुन: बस्ने बताइएको छ ।