बुढीगण्डकी आयोजनाको काम अगाडि बढाउँछौं: श्रेष्ठ

काठमाण्डु टुडे २०७९ फागुन १ गते १६:२८ मा प्रकाशित

काठमाण्डु,१ फागुन– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी आयोजना अगाडि बढाउने बताएका छन ।

आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले सरकारले बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने बताएका छन । उनले भने, ‘गोरखाका जनताको आशा बढेको छ ।

आशा बढ्नु पनि स्वाभाविक नै हो । प्रधानमन्त्री यसै जिल्लाको हुनुहुन्छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री म पनि यसै जिल्लाको छु । गोरखाको विकासका लागि प्रधानमन्त्री ज्यूले मलाई निर्देशन दिनुभएको छ ।

यो जिल्लाको विकासका लागि प्रधानमन्त्री, म र अर्थ मन्त्री बसेर छलफल पनि गरेका छौँ । यस जिल्लाको विकास नगरेर हामीलाई छुट छैन । गोरखाका योजना हामी पुरा गर्छौ यस जिल्लामा खानेपानीको समस्या समाधान गछौं ।

घरघरमा खानेपानी पुर्याउछौं । गाउँपालिका जोड्ने सडक पिच गर्छौं । बुढीगण्डकी आयोजना अगाडि बढाउँछौं । बेनीघाट सडकको बजेट बढाएर काम गर्छौं । ’ उनले वर्तमान सरकारले सामाजिक न्यायसहितको विकास गर्न चाहेको बताएका छन ।

उनले अहिलेको सरकार जनताका आधारभूत आवश्यकता पुरा गर्न लागिपरेको बताएका छन । उनले राजधानी तथा ठूला सहरको मात्र विकास नभई गाउँ तथा दुर्गम क्षेत्रको विकासमा सरकार लागेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us