सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिएको छैन: मन्त्री पौडेल

काठमाण्डु टुडे २०७९ फागुन १ गते १२:०९ मा प्रकाशित

काठमाण्डु,१ फागुन– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको बताएका छन ।

आज (सोमवार) विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन ।

उनले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पछि पार्ने नीति नलिने बताएका छन ।

उनले सामुदायिक रेडियोहरु पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेष्ण गर्नुपर्ने बताएका छन । मन्त्री पौडेलले सामुदायिक रेडियोहरुको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि प्रतिनिधिमुलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गरेका छन ।

उनले भने, ‘सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन । यसमा स्पष्ट हुनुहोला यहाँहरु । पछि पर्ने कुरा सरकारको जिम्माको कुरा होइन । यो यहाँहरुको जिम्मको कुरा हो । सरकारले पछि पार्ने नीति लिँदैन र यहाँहरु पछि पर्नु पनि हुँदैन ।

कहिले काहीँ म्याराथनमा मान्छे पछि छुटे जस्तो लाग्छ, तर त्यो पछि छुटेको मान्छे, लास्ट डेस्टिनेशनमा पछि अगाडि पुगिसकेको हुन्छ । हन्ड्रेड मिटरको दौडमा यसो पछि हेर्दा पनि अर्कोले उछिनिसक्छ । यो यहाँहरु सय मिटरको रेसमा होइन ।

म्याराथनमा हुनुहुन्छ । त्यसकारण पछि पार्न कसैले सक्दा पनि सक्दैन, सरकारको त पछि पार्ने नीति रहँदै रहँदैन । नविकरण, दर्ता, करका विषयहरुमा समस्याहरु के हुन्, यहाँहरु प्रतिनिधि मुलक ढंगले आउनुहोला । सबै समस्याहरु छलफलबाट समाधान गर्न सकिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us