अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक छ: राष्ट्रपति

काठमाण्डु टुडे २०७९ माघ २७ गते १५:४८ मा प्रकाशित

काठमाण्डु,२७ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छन ।

आज (शुक्रवार) राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण भूमिका खेल्ने नेपाल सरकार निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी तथा जनताहरूलाई धन्यवाद समेत दिएकी छन ।

उनले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्त्वपूर्ण रहेको बताउँदै सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छन ।

उनले भनिन्, ‘संविधान कार्यान्वयन, सङ्घीय शासन व्यवस्था कार्यान्वयन र सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अवलम्बन गरेका नीति निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ ।

देशलाई यहाँसम्म ल्याइपुर्‍याउन जनताले विगतमा गरेको राजनीतिक संघर्षको स्मरण गर्दै यस घडीमा अग्रजहरूप्रति सम्मान र अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

उनले अघिल्लो सङ्घीय संसद् र हालको सङ्घीय संसद्ले आफूलाई काम गर्न सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरेकी छन । साथै उनले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताएकी छन् ।

उनले मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us